नेसनल प्याब्सन काठमाडौं
प्रथम निर्माणात्मक मूल्याङ्कन–२०८३
कक्षा : दश अ.नं : ७५
विषय : नेपाली समय : ३ घण्टा
____________________________________________________________
दिएका सबै प्रश्न अनिवार्य छन् ।
१. समूह ‘क’मा दिएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् : (२)
समूह ‘क’ समूह ‘ख’
सौरभ निरन्तर
नादानी कराउँदै सामान बेच्ने मान्छे
अनवरत सुवास बम वास्ना
हकर लोभी
हिम्मत नभएको
२. दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : (२)
धरतीमा बसेर आकाशै थर्किने गरी गगनभेदी आवाज निकालेर चिच्च्याउँदा संसारै हेलिएको महसुस भयो रे । त्यो दानवी आवाज निकाल्ने को होला भनेर खोजी गर्दा त एउटा अजङ्गको चिनैकै छिमेकी राक्षस पो रहेछ । गाउँलेले कर्णप्रिय स्वरमा त्यस्तो कर्णभेदी कर्कस ध्वनि ननिकाल्न जति नै कर गरे पनि उसले पटक्कै टेरेनछ । अन्तमा सबै गाउँले मिलेर सिस्नु र पानी लगाएपछि आगोको झिल्को उच्छिटिए झैँ उच्छिटिएर भागेछ ।
(क) ‘आवाज’ को पर्यायवाची शब्द …………….. हो ।
(ख) ‘प्रारम्भ’को विपरीतार्थी शब्द …………….. हो ।
(ग) अनेकार्थी बुझाउने शब्द …………….. हो ।
(घ) आगोको लघुतावाची शब्द ……………. हो ।
३. दिएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : (२)
इन्द्रको अगाडि स्वर्गको बयान भने झैँ भर्खर अमेरिकाबाट आएको लिन्डा स्वराजले हाम्रा हजुरबालाई नेपालको आयुर्वेदिक चिकित्सा र आयुर्वेदिक औषधीका बारेमा सिकाउँदो रहेछ ।
४. (क) दिएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१)
(क) (अ) सन्कल्प (आ) सञ्चल्प (इ) सण्कल्प (ई) सङ्कल्प
(ख) (अ) विस्वास (आ) बिस्वास (इ) विश्वास (ई) विश्वास
(ख) दिएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२)
बरु कसरी कुन चाहिँ ओखतिको प्रयोग गर्नेहो
५. दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् : (३)
उनले खुसी हुँदै दाजुको खदर सुनाइन । विदेशमा बस्दै आएका दाजुको बसाइ त साँच्चै लोभ लाग्दो तथा आश्चर्यजनक नै छ कि ?
६. दिएका प्रश्नको उत्तर दिनुहोस् : (२+२ = ४)
(क) दिएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
रोपाँई सकेर निश्चिन्त भई सुतिरहेका सुयोगले अर्को खुसीको खबर सुने । सम्बन्धित निकायबाट अपमान सहँदै र अरुको खेलौना बन्नु परेको पीडा उनले भोगे थिए ।
(ख) दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
जिज्ञासु आनीबानी भएका मेरा दाजु र भाइले चौबाटोमा बसी गणितको त्रिकोण चिह्नको प्रयोग कसरी गरिन्छ भन्ने कुरा शिक्षकसँग सोधखोज गरिरहेका छन् ।
७. दिएको अनुच्छेदलाई अपूर्ण भूतकालमा परिवर्तन गर्नुहोस् : (२)
रामलखन बिहानै उठेर घुम्न जान्छन् । उनी आफ्नो घर नजिकैको होटलमा खाजो खान्छन् । उनी गृहकार्य गर्छन् । उनी समयमै विद्यालय जान्छन् ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)
(क) सम्भावनार्थकका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो विदेश भ्रमणका तयारीको बारेमा वर्णन गर्नुहोस् ।
(ख) तल दिएको वाक्यलाई उच्चादरमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
त्यो चिकित्सक हो । उसका धेरै साथी छन् । उनीहरू धेरै बिरामीको उपचार गर्छन् । तिनीहरूलाई खेदकुदतर्फ पनि विशेष रुचि छ ।
९. कोष्ठकमा दिएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (४)
(क) असार लाग्छ । हामी रोपाँईको राम्रो तयारी गर्छौँ । (वाक्य संश्लेषण)
(ख) उमेशले भिरमा खसी चरायो । (कर्मवाच्य)
(ग) चन्द्रकला मिठो कथा लेखिछन् । (प्रेरणार्थक)
(घ) हजुरबुबाले हामीलाई सधैं असल कर्म गरे जीवन सफल हुने कुरा बताउनुभयो । (प्रत्यक्ष कथन)
१०. दिएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : (४)
धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाए जस्तो लाग्यो । आज बिहान एउटा काम बिगार्दा रामे भन्ने नोकरमाथि तिनी रिसाएका थिए । नोकरको के ठेगान, भोक उठ्यो र मालिकलाई हान्न हिँड्यो होला । नोकरसित झर्कँदा तिनले उसको मुख रातो भएको देखेका थिए । उनलाई के थाहा, रिसले रातो भएको रहेछ । ऊ केही अचाक्ली गरी रिसाएको थिएन । यत्रो पुरानो नोकरले त्यही हप्की पाउँदा मालिकलाई मार्न नहिँड्नु पर्ने । रामले योभन्दा ठुलो ठुलो गाली सहेको थियो र आजको झट्नीले त्यसको धैर्यको अन्त नगर्नुपर्ने । मनुष्यको स्वभाव कसले जान्न सक्छ र ? ऊ नभए अरु को मेरो शत्रु होला ? हो न हो यो रामको काम हैन, बलभद्रको काम हो ।
प्रश्नहरू :
(क) माथिको अनुच्छेदको पहिलो वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) अनुच्छेदको रेखाङ्कित शब्द मालिकलाईको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) माथिको अनुच्छेदबाट एउटा संयुक्त वाक्य पहिचान गरी लेख्नुहोस् ।
(घ) अनुच्छेदको रामले योभन्दा ठुलो ठुलो गाली सहेको थियो वाक्यको उद्देश्य र विधेय छुट्याइ लेख्नुहोस् ।
११. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
मानव जीवनको विकासका क्रममा आगो निकै उपयोगीसिद्ध भएको वस्तु हो । यसको गुण भन्नु नै पोल्नु एक किसिमको तातो वा पोल्ने पदार्थका रूपमा रहेको हुन्छ । यसको उत्पत्ति दुई वनस्पतिका बिचको घर्षणबाट भए पनि हिजोआज यसलाई वैज्ञानिक प्रविधिबाट विभिन्न वस्तुहरूमा समेटिएको छ । यसलाई मानिसले खाद्यान्न पकाउने कामदेखि अनावश्यक वस्तुलाई डढाउने काममा समेत प्रयोग गर्ने गरेका छन् । मानिसलाई स्वस्थ राख्नका लागि यसको उल्लेखनीय भूमिका रहेको हुन्छ । तताएर, पकाएर, उमालेर, पोलेर वा डढाएर सेवन गरिने वा उपयोग गरिने वस्तुहरूका लागि यसको अपरिहार्यता रहेको हुन्छ । वनस्पति, कोइला, तेल र ग्याँसबाहेक सौर्य ऊर्जा र विद्युतबाट पनि आगोले गर्ने काम सम्पन्न गरिन्छ । बन्दुक र आणविक हतियारभित्र अग्नितत्वले प्रवेश पाएदेखि मानव विकाससँगै विनाशका लागि पनि यसको प्रयोग बढ्न थालेको हो ।
प्रश्नहरू :
क. आगोलाई कहाँ कहाँ उपयोग गर्न सकिन्छ
ख. आगो कसरी उत्पत्ति हुन्छ ?
ग. आगोको अनिवार्यता कुन कुन अवस्थामा रहन्छ ?
घ. आगोकै विकल्पमा रहन सक्ने अन्य वस्तुहरू के के हुन्छ ?
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) दिएका बुँदाका आधारमा कथा तयार पारी शीर्षक समेत लेख्नुहोस् :
एउटी बघिनीलाई सुत्केरी अवस्थामा बाघले सिकार गरी खानु……..एकदिन सिकार फेला पार्न नसक्नु …..फर्कनेबेला स्यालको बच्चो भेटी बघिनीलाई जिउँदै बुझाउनु……बघिनीले माया गरी जेठो छोरो मानी पाल्नु……बाघको डमरु र स्यालको बच्चो दाजुभाइका रूपमा सँगसँगै जङ्गलमा घुमफिर गर्नु……अर्ना, गैंडा आदिको सिकार गर्न अघि सर्ने डमरुलाई स्यालको बच्चाले रोक्नु…..एकदिन तिनीहरूको हात्तीसित जम्काभेट हुनु…..डमरु हात्तीमाथि जाइलाग्दा स्यालले रोक्नु…..डमरुलाई आफूले हात्तीको सिकार गर्न रोकेकामा गुनासो गर्नु…..यसको कुलमा हात्तीको सिकार हुन नसक्ने कुरा बघिनीले जवाफ दिनु ।
(ख) आफू भलिबल प्रतियोगितामा प्रथम हुन सफल हुँदा मनमा उठेका भावनालाई समेटेर एउटा मनोवाद तयार पार्नुहोस् ।
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) काकाको विवाहमा जानुपर्ने भएकाले तीन दिनको बिदा पाऊँ भनी आफ्नो विद्यालयका प्रधानाध्यापकलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
(ख) आफ्नो विद्यालयले आयोजना गरेको कुनै विज्ञान प्रदर्शन कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दै लेखिने निमन्त्रणा पत्र तयार पार्नुहोस् ।
१४. दिएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : (२)
यति हुँदाहुँदै पनि आयुर्वेदिक उपचार पद्धतिमा व्यवस्थापन, सङ्गठन र निदानमा समेत केही सीमा रहेका छन् । दुर्घटनामा परी अङ्गभङ्ग भएका साथै एपेन्डिसाइटिस, हृदयाघात, पक्षघात आदि रोगबाट पीडित बिरामी, शल्यक्रियाबाट गरिने उपचार, सघन उपचार आदिमा राखेर गरिने उपचारमा एलोप्याथीको सहयोग लिनुपर्ने अवस्था छ । साथै आयुर्वेद उपचारका नाममा जसले पनि औषधी बेच्नु, भिडभाड हुने ठाउँमा हकरले पनि औषधी बेच्नु र त्यसलाई रोक्ने कुनै संयन्त्र नहुनु र यसरी जो पायो त्यसैले घरघरै स्वघोषित आयुर्वेदिक वैद्य बनेर उपचार गर्नु जस्ता यसका सीमा हुन । आयुर्वेदिक औषधीको पार्श्वप्रभाव न्यून हुन्छ । धेरै खायो भने चिनी पनि तितो हुन्छ भने झैँ नजानी नजानी यस्ता औषधी खाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
१५. दिएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : (३)
विराट् प्रतिभाशाली महान् कवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यमा अतुलनीय योगदान गर्ने चिरस्मरणीय श्रष्टा हुन् । नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपालीभाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । शिक्षित र पठित परिवारमा जन्मेका, जीवनमा दुःख र सुखका अनेकौं उकाली र ओराली भोगेका देवकोटाले किशोरावस्थादेखि नै उत्कृष्ट कृति रचना गरे । बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं.१९६६ कार्तिक २७ गते भएको हो ।
१६. दिएका प्रश्नको उत्तर दिनुहोस् : (४+४ = ८)
(क) दिएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धति छन् । रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै प्रदान गरिने स्वास्थ्य सेवा निरोधात्मक चिकित्सा हो । स्वास्थ्य स्थिति सुधार गर्न प्रदान गरिने पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाइ कार्यक्रम जस्ता सेवा प्रवर्धनात्मक स्वास्थ्य सेवा हुन् । रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ । उपचारात्मक स्वास्थ्य सेवाका लागि आधुनिक चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पद्धतिबाहेकका होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौं उपचार पद्धति पनि रहेका छन् । तिमध्ये युनानी, एलोप्याथिक, होमियोप्याथिक र आयुर्वेदिक गरी चार चिकित्सा पद्धति प्रचलित छन् । युनानी चिकित्सा पद्धति अरबमा प्रचलित प्राचीन चिकित्सा पद्धति हो । अरब मुलका मानिस र इरानीद्वारा ११ औं शताब्दीतिर यो पद्धति भारतमा प्रचलनमा ल्याइएको थियो । भारतमा ब्रिटिस शासनका समयमा एलोप्याथिक प्रणाली सुरु भएपछि युनानी प्रणालीको औषधीय शिक्षा, चिकित्सा भन्ने हुन्छ । होमियोप्याथिक शब्दको अर्थ सदृश रोग पदार्थद्वारा नै कुनै रोगको निदान गर्नु भन्ने बुझिन्छ । काँडालाई काँडाले झिक्नुपर्छ भने समानताको उपचारको मान्यता हो । यो सिद्धान्त समानतामा आधारित छ ।
प्रश्न :
क) स्वास्थ्य सेवा भनेको के हो ? निरोधात्मक चिकित्सा पद्धतिको चर्चा गर्नुहोस् ।
ख) समानताले समानताको उपचार भन्नाले के बुझिन्छ ?
(ख) दिएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
विचार गर्दै कृष्ण रायले रेलको डब्बामा भएको सम्झे, हाटमा तिनीद्वारा धक्का खाई लडेको एउटा मान्छेलाई सम्झे, तिनले निकालिदिएका नोकरहरूलाई सम्झे, गरिब तर ईर्ष्यालु दाजुभाइलाई सम्झे जो तिनको उन्नति देखिसहँदैनथे । अरुको त के कुरा, आफ्नै पोष्य पुत्रमाथि पनि उनलाई भरोसा थिएन ।
प्रश्नहरू :
(अ) शत्रु कथाको प्रमुखपात्र कृष्ण रायले कसकसमाथि किन शङ्का गरेका होलान् ?
(आ) शत्रु कथाले दिएको मूल सन्देश के हो ?
१७. यदि तपाईं गृहमन्त्री हुनुभयो भने साइबर अपराध रोक्न के कस्ता उपाय अपनाउनु हुन्छ ? तर्क दिनुहोस् । (४)
१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (४)
(क) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै
(ख) बाहिरी शत्रु उठ्न दिनको मूल कारण घरझगडा हो ।
१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (७)
(क) दिएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएको छ । होमियोप्याथी चाहिँ वैकल्पिक चिकित्सा पद्धतिका रूपमा प्रचलित छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमा रोग बढाउने खुराक दिइन्छ र क्रमशः निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ ।
प्रश्न :
(अ) आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकरात्मक पक्षबारे समीक्षा गर्नुहोस् ।
(ख) दिएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःख सागर ठान्ने देवकोटाले मानव सेवालाई शङ्खनाद गरे । त्यस्तै जरुर साथी म पागल भन्ने पागल कविताका देवकोटा प्रभुजी मलाई भेडो बनाऊ भन्ने कवितामा विद्रोही कविताका रूपमा देखिन्छन् ।
प्रश्न :
(अ) लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : (७)
(क) देशविकासमा मेरो भूमिका
(ख) नेपालमा कृषि उद्योग
(ग) वातावरण संरक्षण
सफलताको शुभकामना !





